दसैँमा घर फर्किने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट खुल्ने

काठमाडौं । दसैँको मुखमा घर फर्किने तयारीमा रहेका यात्रुले अब अग्रिम रूपमा सार्वजनिक सवारीसाधनको टिकट लिन पाउने भएका छन्। चाडपर्वमा हुने अत्यधिक यात्रु चापलाई व्यवस्थापन गर्ने उद्देश्यले सरकारले असोज २३ गतेदेखि अग्रिम टिकट बिक्री खुला गर्ने निर्णय गरेको हो।

यसपटक दसैँमा काठमाडौं उपत्यकाबाट मात्रै १० लाखभन्दा बढी मानिस बाहिरिने अनुमान गरिएको छ। ठूलो संख्यामा यात्रु बाहिरिने भएपछि अन्तिम समयमा टिकट अभाव, टिकट काउन्टरमा भीड तथा मनपरी भाडा असुलीजस्ता समस्या दोहोरिन नदिन यातायात क्षेत्रको व्यवस्थापनमा विशेष तयारी थालिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार अग्रिम टिकट बुकिङका विषयमा यातायात व्यवस्था विभागमा मंगलबार भएको छलफलले टुंगो लगाएपछि यात्रुको अन्योल हट्ने भएको छ।

विभागले यातायात व्यवसायी, मजदुर संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापन पक्षसँग छलफल गरी अग्रिम टिकट बुकिङको मिति निर्धारण गरेको हो।

चाडपर्वको यात्रालाई सुरक्षित बनाउन यसपटक सवारी सञ्चालनमा समेत कडाइ गर्ने निर्णय गरिएको छ। विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा एउटै चालकले लगातार लामो समयसम्म सवारी चलाउने अवस्थालाई रोक्न दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरिने भएको छ।

यात्रु तथा सवारीसाधनको विवरण व्यवस्थित राख्न टिकट बिक्री प्रणालीमा समेत थप व्यवस्था गरिएको छ। टिकट खरिद गर्ने यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेखमा राख्नुपर्नेछ। यसले आवश्यक परेको अवस्थामा यात्रुको तत्काल पहिचान गर्न तथा आपत्कालीन अवस्थामा सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ।

टिकट बिक्री गर्ने काउन्टरमा कार्यरत कर्मचारीलाई समेत पहिचान गर्न सकिने व्यवस्था गर्नुपर्ने भएको छ। काउन्टरका कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र तोकिएको पोसाक प्रयोग गर्नुपर्नेछ। यसबाट टिकट काउन्टरमा हुने अनधिकृत गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने सरकारी अपेक्षा छ।

चाडपर्वको मागलाई देखाएर यात्रुसँग अतिरिक्त रकम असुल्ने वा टिकट बिक्रीमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयासमाथि निगरानी बढाइने भएको छ।

तोकिएको भाडाभन्दा बढी रकम लिने, टिकटमा कालोबजारी गर्ने वा अन्य किसिमका अनियमितता गर्ने व्यक्ति तथा व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।