सोमपालको कप्तानी इनिङमा कर्णाली याक्सको लगातार दोस्रो जित

काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले १८७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

पावरप्लेमा धरमराएको कर्णालीको ब्याटिङ सम्हाल्दै सोमपालले टोलीलाई जित दिलाए । उनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ६२ रन बनाए । बलिङमा समेत चम्किएका सोमपालले विराटनगरका ४ विकेट लिए ।

कर्णालीको जितमा गुल्सन झाले पनि महत्त्वपूर्ण योगदान दिए । उनले २१ बलमा २ चौका र २ छक्कासहित अविजित २८ रन बनाए । पवन सर्राफले २८ बलमा ३ छक्का र १ चौकासहित ३६ रन जोडे । अरिफुल इस्लामले १२ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ३२ रन बनाउँदा दीपक डुम्रेले ११ बलमा २० रनको योगदान दिए ।

विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिए । चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान १ विकेट लिए पनि विराटनगरलाई जिताउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा ९ छक्का र ३ चौका प्रहार गरे ।

त्यस्तै, आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित २७ रन बनाए । एन्जेलो म्याथ्युजले २३ बलमा ४ चौकाको मद्दतमा ३१ रन जोडे भने बसिर अहमदले १३ रन बनाए ।

कर्णालीका लागि कप्तान सोमपालले ४ विकेट लिँदा मार्क वाट र नन्दन यादवले समान १ विकेट लिए ।

यस जितसँगै कर्णालीले जारी एनपिएलमा लगातार दोस्रो जित दर्ता गरेको छ । विराटनगरले भने प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ ।