आईजीपी कार्कीबारे भ्रामक प्रचार नगर्न प्रहरीको आग्रह, कानुनी कारबाहीको चेतावनी

काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै तथ्यहीन सूचना प्रसारित नगर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले अपुष्ट समाचारले नागरिकमा भ्रम सिर्जना गर्नुका साथै संगठनको प्रतिष्ठा र जनविश्वासमा असर पार्न सक्ने जनाएको छ।

समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न पनि प्रहरीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ। नेपाल प्रहरीलाई कमजोर बनाउने उद्देश्यले भ्रामक प्रचार गरिएको पाइएमा अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अवि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।