काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–चपली क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार चपलीबाट करिब २२ किलो सुन बरामद गरेको हो।
प्रहरीका अनुसार सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले चपली क्षेत्रमा विशेष निगरानी बढाएको थियो। सोही क्रममा टोलीले सुन बरामद गर्नुका साथै कारोबारमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
तर पक्राउ परेका व्यक्तिको संख्या, नाम–ठेगाना तथा उनीहरूबाट सुन कसरी बरामद भयो भन्ने विषयमा प्रहरीले तत्काल विस्तृत जानकारी सार्वजनिक गरेको छैन। बरामद सुन कहाँबाट ल्याइएको थियो, यसको अन्तिम गन्तव्य कहाँ थियो र यसमा संलग्न व्यक्तिको सञ्जाल कति ठूलो छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सुनको आधिकारिक तौल, शुद्धता तथा अन्य विवरणसमेत अनुसन्धानपछि सार्वजनिक गर्ने तयारी गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका व्यक्ति र बरामद सुनबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी दिने जनाएको छ।
ठूलो परिमाणमा सुन बरामद भएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ। पत्रकार सम्मेलनपछि सुनको वास्तविक परिमाण, पक्राउ परेकाको पहिचान, बरामदगीको पृष्ठभूमि तथा सुन तस्करीसँग जोडिएको सम्भावित सञ्जालबारे थप विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ।
