काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा परेको देखेपछि आफू सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्। शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकमा भण्डारीले ११ वर्षपछि पार्टी राजनीतिमा सक्रिय भएको जानकारी गराएकी हुन्। उनले लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन पार्टीमा आबद्ध भएर काम गर्ने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्।
एमाले सचिव पद्मा अर्यालका अनुसार भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिएको भन्दै यसको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताएकी थिइन्। ‘११ वर्षपछि पार्टी जीवनमा फर्किएकी छु। आज मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिइरहेको छ। अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे, तिनै दलहरूले यसको रक्षा गर्ने हो,’ भण्डारीको भनाइ उद्धृत गर्दै अर्यालले बताइन्।
भण्डारीले आफू विगतमा पनि लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको स्मरण गराउँदै लोकतन्त्रप्रति अगाध माया र विश्वास रहेको बताएकी छन्। ‘म हिजो लोकतान्त्रिक आन्दोलनमा सरिक भएँ। त्यसप्रति अगाध माया र विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन मद्दत पुर्याउन सक्छु भन्ने मनसायले पार्टी जीवनमा फर्किएँ,’ उनको भनाइ थियो।
उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण र सुदृढीकरण गर्न राजनीतिक दलहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्। लोकतन्त्र र संविधानको रक्षा तथा गणतन्त्रलाई थप बलियो बनाउन योगदान दिने उद्देश्यले आफू सक्रिय राजनीतिमा फर्किएको भण्डारीले स्पष्ट पारेकी छन्।
