कांग्रेस १५औँ महाधिवेशन : असोज २२ गते मतदान, असोज २० मा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २२ गते मतदान हुने भएको छ।
कार्यतालिकाअनुसार असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। उम्मेदवारको अन्तिम नामावली असोज २१ गते बिहान १० बजे प्रकाशन गरिनेछ।

असोज २२ गते बिहान ७ः३० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवन कमलादीमा तोकिएका तीन मतदान केन्द्रबाट हुनेछ। निर्वाचन समितिका अनुसार सभापति पदका लागि रु. ४० हजार, उपसभापति तथा महामन्त्रीका लागि रु. ३० हजार, सहमहामन्त्रीका लागि रु. २० हजार र केन्द्रीय सदस्यका लागि रु. ११ हजार उम्मेदवारी शुल्क तोकिएको छ।

सभापति पदका उम्मेदवारका लागि १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। उपसभापति तथा महामन्त्रीका लागि ७/७ जना, सहमहामन्त्रीका लागि ५/५ जना तथा केन्द्रीय सदस्यका लागि ३/३ जना प्रस्तावक र समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले उम्मेदवार तथा समर्थकलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ। प्रचारप्रसारका क्रममा टोपी, क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, गम्छा, ब्याच, मास्क, लकेटलगायतमा उम्मेदवारको फोटो, नाम वा चुनाव चिह्न प्रयोग गर्न नपाइने जनाएको छ। मतदानस्थल आसपास फ्लेक्स तथा प्रिन्ट सामग्री राख्नसमेत निषेध गरिएको छ। मतदाता नामावली कांग्रेसको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा उपलब्ध गराइने जनाइएको छ।