एजेन्सी । मध्यपूर्वमा जारी युद्धका क्रममा पछिल्ला दिनमा दुवै पक्षबाट आक्रमण रोकिएको देखिए पनि इरान र अमेरिकाबीचको तनाव पूर्ण रूपमा अन्त्य भएको छैन। विशेषगरी विश्वको महत्वपूर्ण ऊर्जा मार्गका रूपमा रहेको होर्मुज समुद्रीमार्गलाई लिएर विवाद कायमै छ।
इरानले आफ्ना सातवटा सर्त पूरा नभएसम्म होर्मुज समुद्रीमार्ग नखोल्ने स्पष्ट पारेको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्तिसँग जोडिएको यो समुद्रीमार्गमा तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा समेत त्यसको प्रत्यक्ष असर परेको छ।
रोयटर्सले स्थानीय नुरन्यूजलाई उद्धृत गर्दै जनाएअनुसार इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले आइतबार संयुक्त राज्य अमेरिकासँगको जुनको अन्तरिम सम्झौतामा उल्लेख गरिएका सातवटा इरानी सर्त पूरा नभएसम्म होर्मुज नखोलिने बताएका छन्।
गालिबाफका अनुसार अमेरिकाले हालै मध्यस्थकर्तामार्फत नयाँ प्रस्ताव अघि सारेको छ। उनले अमेरिकाले प्रक्रियालाई अनावश्यक रूपमा लम्ब्याउने र एकतर्फी माग अघि सार्ने समय समाप्त भएको बताएका छन्।
उनले भनेका छन्, ‘मिडियामा फरक–फरक कुरा भनिरहेका अमेरिकीहरुले हालै मध्यस्थकर्तामार्फत प्रस्ताव राखेका छन्। तर, उनीहरुले बुझ्नुपर्छ कि प्रक्रियालाई अनावश्यक रुपमा लम्ब्याउने र एकतर्फी मागहरु लाद्ने युग समाप्त भएको छ।’
यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि होर्मुज समुद्रीमार्ग खोल्ने विषयमा इरानको अडान स्पष्ट पारेका छन्। तेहरानमा विदेशी राजदूत तथा कूटनीतिज्ञहरूसँगको छलफलका क्रममा उनले अमेरिकाले इरानसँगको विवाद समाधान गर्ने प्रस्तावित योजना स्वीकार गरेमा होर्मुज समुद्रीमार्ग सात दिनभित्र खोल्न सकिने बताएका छन्।
अराघचीका अनुसार इरानले होर्मुज पुनः सञ्चालनका लागि आफ्ना सर्तहरू स्पष्ट रूपमा प्रस्तुत गरिसकेको छ। ती सर्तहरू अमेरिकाले पूरा गर्नुपर्ने प्रतिबद्धतासँग जोडिएका छन्।
तर, अमेरिकाले इरानको प्रस्ताव स्वीकार नगरेमा अवस्था पुनः तनावपूर्ण बन्न सक्ने चेतावनी पनि इरानले दिएको छ। अराघचीले तेहरानले अमेरिकाले कूटनीतिक बाटो रोज्ने अपेक्षा गरेको तर अमेरिकाले पुनः सैन्य कारबाही रोजेमा इरान जवाफ दिन तयार रहेको बताएका छन्।
अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव तथा होर्मुज समुद्रीमार्गमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा समेत दबाब बढेको छ। कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेपछि तेल आयातमा निर्भर मुलुकहरूमा थप आर्थिक दबाब पर्ने चिन्ता बढेको छ।
होर्मुज समुद्रीमार्ग विश्वकै महत्वपूर्ण तेल तथा ऊर्जा आपूर्ति मार्गमध्ये एक भएकाले यसको अवरोध लामो समयसम्म कायम रहेमा विश्व बजारमा तेलको आपूर्ति, मूल्य र ढुवानी लागतमा थप असर पर्न सक्ने देखिएको छ।
