त्रिपुरेश्वरमा बसमा आगजनी गर्ने व्यक्ति अर्जुन दोङ तामाङ भएको पुष्टि

काठमाडौं, ६ असोज । असोज ५ गते राजधानीको त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ । ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैँले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको गएराति कीर्तिपुरस्तित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा हुन् । उनको बाबुको नाम श्यामबहादुर दोङ तामाङ र आमाको नाम बिनु तामाङ हो ।

प्रहरी अनुसन्धानका क्रममा अर्जुन यसअघि दुई घटनामा संलग्न रहेको खुलेको छ । ती घटनामा अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र प्रयोग गर्ने गरेको खुलेको घिमिरेले बताए ।

प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा अर्जुन संलग्न रहेको र घटनापछि फरार रहेको खुलेको छ । उक्त घटनाका क्रममा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्रिपुरेश्वरमा भएको पछिल्लो घटनामा भने उनले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ । त्यही अनुमतिपत्र भेटेपछि प्रहरीले उनी दावा लामा भएको सञ्चारमाध्यमलाई जानकारी गराएको थियो ।

अनुसन्धानका क्रममा अर्जुनले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गर्दै आएको तथ्यहरू फेला परेको एसपी घिमीरेले बताए ।

अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।