काठमाडौं, १४ असोज । नेपाल पत्रकार महासंघले नेपाल प्रेस काउन्सिलका चार जना सदस्यले जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाएको छ । महासंघले आज एक विज्ञप्ती जारी गर्दै काउन्सिलको लेटरहेडमा जारी विज्ञप्ति फिर्ता लिन समेत माग गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा काउन्सिलजस्तो गरिमामय र सन्तुलनकारी निकायको नाममा आएको यस्तो एकपक्षीय विज्ञप्तिले वातावरण बिगार्ने भन्दै फिर्ता लिएर सहज वातावरण बनाउन भनिएको छ ।
स्वरोजगारमूलक छापामाध्यमहरूले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम आधासम्म कटौती भएपछि उत्पन्न समस्या समाधानका लागि यही असोज १३ गते महासंघ र प्रेस काउन्सिल नेपालबीच छलफल भएको थियो ।
छलफलका क्रममा दुवै पक्षबीच सामान्य भनाभन भए तापनि अन्त्यमा हार्दिकतापूर्वक बैठक सम्पन्न भएको तथ्यलाई बेवास्ता गर्दै काउन्सिलका नाममा विज्ञप्ति जारी भएको महासंघको भनाइ छ ।
छलफलमै सहभागी नभएका काउन्सिलका चारजना बोर्ड सदस्यहरूको संयुक्त हस्ताक्षरमा व्यक्तिलक्षित विज्ञप्ति जारी गरिएको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘समस्या समाधान गर्ने सहमति जनाएको काउन्सिलको नाममा छलफलमा समावेश नै नभएका काउन्सिलका सदस्यहरुले एकपक्षीय रुपमा यसरी वक्तव्यबाजी गर्नुले सञ्चारमाध्यम र पत्रकारको अभिभावकीय भूमिका निर्वाह गरिरहेको काउन्सिलकै प्रतिष्ठामा चोट पुग्नुका साथै यसको सन्तुलनकारी भूमिकामाथि समेत प्रश्न उठाएको महासंघको बुझाइ छ ।’
यसअघि महासंघको काठमाडौँ शाखाले छलफलको सामान्य नोकझोकलाई अतिरञ्जित गरेर अनुपस्थित सदस्यहरूबाट निकालिएको विज्ञप्ति संस्थागत हो वा होइन भनी प्रश्न उठाएको थियो । महासंघको केन्द्रीय समितिले काठमाडौँ शाखाको उक्त धारणामा सहमति जनाएको छ ।
हिजो काउन्सिलका चारजना बोर्ड सदस्यले संयुक्त विज्ञप्ति जारी गरेका थिए । पत्रकार दीपका पाण्डेले काउन्सिलका अध्यक्षलाई टिपेर झ्यालबाट फ्याँक्ने चेतावनी दिएको भन्दै उनीहरुले आपत्ती जनाएका थिए । तर, विज्ञप्ति जारी गर्नेहरु छलफलमा सहभागी नै नरहेको महासंघको भनाइ छ ।
