क्षेत्रीय निर्वाचनमा आक्रमण भएको भन्दै डीला संग्रौलाद्वारा कारबाहीको माग

विराटनगर, १४ असोज । नेपाली कांग्रेसकी सहमहामन्त्री डाक्टर डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नं। ६ को क्षेत्रीय निर्वाचनका क्रममा भएको सांघातिक आक्रमणको भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन, बाँसबारीमा निर्धारित निर्वाचन स्थलमा कार्यक्रम सुरु हुनुअघि मादक पदार्थ सेवन गरी हातहतियारसहित आएका केही व्यक्तिले आक्रमण गरेको संग्रौलाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणबाट आफू सहित क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मी, जेन्जी युवा समुन्द्र पोखरेललगायत उम्मेदवारी दर्ताका लागि उपस्थित व्यक्तिहरू घाइते भएको उनले बताएकी छन् । उनका अनुसार केही कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

संग्रौलाले घाइते कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक व्यवस्थामा अराजकता, अनुशासनहीनता र हिंसाका लागि कुनै स्थान नहुने बताएकी छन् ।

उनले घटनामा संलग्न तथा घटनालाई उक्साएको आरोप लागेका क्षेत्रीय सभापति देवराज तामाङलगायत सम्बन्धित व्यक्तिमाथि आवश्यक छानबिन गरी प्रचलित कानुन र पार्टी विधानबमोजिम कारबाही गर्न माग गरेकी छन् ।

साथै, निर्वाचनका लागि वैकल्पिक व्यवस्था गरी स्थगित निर्वाचन प्रक्रिया यथाशीघ्र सञ्चालन गर्न पार्टी सभापति तथा केन्द्रीय निर्वाचन समितिसमक्ष उनले अपिल गरेकी छन् ।