गगन पक्षलाई देउवा समूहको काउन्टर, आयोगमै पुग्यो छुट्टै महाधिवेशनको कार्यतालिका

काठमाडौँ, १४ असोज । नेपाली कांग्रेसभित्र महाधिवेशनको विवाद चर्किरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गगन थापा नेतृत्वको पक्षलाई कडा राजनीतिक काउन्टर दिएको छ ।

देउवा समूहले पार्टीको १५ औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका अघि सार्दै आज त्यसको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएको हो । देउवाको हस्ताक्षर रहेको पत्र आयोगमा दर्ता भएको नेता एनपी साउदले बताएका छन् ।

देउवा समूहको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन सुरु हुनेछ । असोज २० गते गाउँ तथा नगरपालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने योजना छ ।

यससँगै कांग्रेसभित्र एउटै १५औँ महाधिवेशनका लागि दुई छुट्टाछुट्टै प्रक्रिया अघि बढेका छन् । गगन थापा नेतृत्वको पक्षले यसअघि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाइसकेको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उक्त कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढिरहेको जनाएको छ ।

देउवा समूहको पछिल्लो कदमले गगन नेतृत्वको महाधिवेशन प्रक्रियामाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ । देउवा पक्षले आफ्नो छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाएर पार्टीको आधिकारिकता र नेतृत्वसम्बन्धी विवादलाई समेत नयाँ चरणमा पुर्‍याएको देखिन्छ । यसअघि पनि दुवै पक्षले आ-आफ्नै कार्यतालिका सार्वजनिक गर्दै समानान्तर रूपमा महाधिवेशनको तयारी अघि बढाएका थिए ।

अब कांग्रेसभित्रको मुख्य प्रश्न दुई पक्षले अघि सारेका महाधिवेशन प्रक्रियामध्ये पार्टीको आधिकारिक संरचना र निर्वाचन प्रक्रियासँग कुन प्रक्रिया कसरी समायोजन हुन्छ भन्नेमा केन्द्रित भएको छ । विवादको अन्तिम निक्र्योल राजनीतिक सहमति तथा सम्बन्धित कानुनी प्रक्रियाबाट तय हुने विषय बनेको छ ।