‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेल : विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको बताएकी छन्।
नेकपा एमाले जिल्ला कमिटी दोलखाले आइतबार काठमाडौँमा आयोजना गरेको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा, वैचारिक दृष्टिकोण, संघर्ष र नेतृत्वदायी भूमिकाका विभिन्न पक्ष समेटिएको बताइन्।

उनले पुस्तकले पोखरेलको राजनीतिक जीवन र योगदानलाई बुझ्न महत्वपूर्ण सामग्री प्रदान गर्ने विश्वास व्यक्त गरिन्। राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको विचार, अनुभव र संघर्षलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले पुस्तकले राजनीतिक तथा सामाजिक क्षेत्रमा पोखरेलले पुर्‍याएको योगदान, उनका विचार तथा नेतृत्वका अनुभवलाई भावी पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने बताइन्। पुस्तकका लेखक आनन्दप्रसाद पोखरेलले आफूले जीवनमा भोगेका दुःख, कष्ट तथा राजनीतिक अनुभवका आधारमा पुस्तक तयार गरिएको जानकारी दिए।
लोकार्पण समारोहमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई, पार्वत गुरुङ, आनन्द पोखरेल, झलक सुवेदीलगायत लेखक, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो।