काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाएर २४ पुर्याउने निर्णय गरेको छ।
काठमाडौंको खुलामञ्चस्थित महाधिवेशन स्थलमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारी संख्या २४ पुर्याउने निर्णय गरेको हो। यसअघि कांग्रेसमा १७ जना पदाधिकारी रहने व्यवस्था थियो।
नयाँ व्यवस्थाअनुसार कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, तीन उपसभापति, तीन महामन्त्री, १४ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। यसअघि उपसभापति र महामन्त्रीको संख्या थप गर्ने तथा समावेशी प्रतिनिधित्व बढाउने विषयमा विधान संशोधनको प्रस्ताव अघि बढाइएको थियो।
कांग्रेसमा कोषाध्यक्ष तथा तीन जना सहमहामन्त्री मनोनित हुने व्यवस्था रहेको छ। पदाधिकारीको नयाँ संरचना महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ। नयाँ व्यवस्था गरिएका पदमा समेत उम्मेदवारी दिन सकिनेछ। कांग्रेसको महाधिवेशन असोज १८ देखि २१ गतेसम्म काठमाडौंमा हुँदैछ।
