राष्ट्र बैंकले दुई रुपैयाँका ३० करोड थान सिक्का बनाउने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागले अक्टोबर ५ मा जारी गरेको सूचनाअनुसार पूर्वयोग्यता प्राप्त सिक्का टकमारी कम्पनीहरूले प्रतिस्पर्धामा भाग लिन सक्नेछन्।

खरिद प्रक्रियामा सिक्काको डिजाइन, टकमारी, आपूर्ति, ढुवानी तथा सम्बन्धित सेवा समावेश छन्। दुई रुपैयाँ दरका ३० करोड सिक्काको अंकित मूल्य ६० करोड रुपैयाँ हुन्छ। यो सिक्का उत्पादनको लागत भने होइन। सूचनामा ठेक्काको अनुमानित लागत खुलाइएको छैन।

बोलपत्र ‘एकल चरण, दुई खाम’ विधिबाट सञ्चालन हुनेछ। सहभागी कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखी एउटै बाहिरी खामभित्र बुझाउनुपर्नेछ।

बोलपत्र कागजात नोभेम्बर ३, २०२६ सम्म खरिद गर्न सकिनेछ। यसको फिर्ता नहुने दस्तुर २० हजार नेपाली रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो तोकिएको छ। कागजात थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग तथा बबरमहलस्थित टक्सार महाशाखाबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।

सिलबन्दी बोलपत्र नोभेम्बर ४ को मध्याह्न १२ बजेसम्म थापाथलीस्थित विभागमा बुझाउनुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। निर्धारित समयपछि प्राप्त प्रस्ताव अस्वीकार गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलपत्रपूर्व बैठक अक्टोबर १६ को मध्याह्न १२ बजे आयोजना हुनेछ। प्रस्तावको मान्य अवधि बोलपत्र खोलिएको मितिदेखि १२० दिन रहनेछ।

प्रतिस्पर्धी कम्पनीले न्यूनतम एक लाख ३२ हजार अमेरिकी डलर वा तोकिएको विनिमय दरअनुसार बराबरको रकम बोलपत्र जमानत राख्नुपर्नेछ। यस्तो जमानत अप्रिल ३, २०२७ सम्म मान्य हुनुपर्ने व्यवस्था छ।