काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्दसत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो।
बन्दसत्रमा पेस हुने प्रतिवेदन र एजेन्डा तय गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दैछ। बैठकका लागि कांग्रेसका नेताहरू खुलामञ्चमा आउन थालेका छन्। चिया, नास्ता तथा खाजा सकेपछि नेताहरू बैठकस्थलमा पुग्न थालेका हुन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा पेस गरिने प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएपछि मात्र बन्दसत्र सुरु हुनेछ।
‘पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेश गर्नुहुन्छ । सहीअनुसार नै बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्दसत्र बस्छ,’ उनले भने।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।
बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ। बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ। प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी अघि बढाएको छ।
मंगलबार उम्मेदवारी मनोनयन
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता हुनेछ।
उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल, भेटघाट तथा समूहगत रणनीति निर्माणलाई तीव्र बनाउँदै आएका छन्।
