तर अहिले समाजमा पुस्तान्तरणको नाममा विभाजन गर्ने प्रयास भइरहेको उनको आरोप छ । जात, धर्म र भूगोलका आधारमा समाजलाई विभाजन गर्न नसकेपछि बाबु–छोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको उनले बताए । नयाँ पुस्ताले पुरानो पुस्तालाई तत्काल जिम्मेवारी छाड्न दबाब दिनु अनुचित भएको उनको दाबी छ ।
ओलीले प्राध्यापक बन्नका लागि लेक्चररबाट सुरु गर्नुपर्ने उदाहरण दिँदै नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै जानुपर्ने बताए । नेतृत्व हस्तान्तरणका लागि आवश्यक तयारी र अनुभव हासिल गर्न समय लाग्ने उनको भनाइ छ ।
आफ्नो राजनीतिक जीवनको सुरुवाती समय स्मरण गर्दै ओलीले आफूहरू सानै उमेरमा नेतृत्व तहमा पुगेको बताए । तर तत्कालीन नेतृत्वको उमेरलाई अहिलेको पुस्तासँग सिधै तुलना गर्न नमिल्ने उनको जिकिर छ । ‘अहिले १९ वर्षको मान्छेले पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुन्छ,’ उनको भनाइ थियो ।
कुनै व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएमा आफू नेतृत्वबाट आफैँ हट्ने ओलीले बताए । पार्टीभित्र अहिले एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पुस्तान्तरणलगायतका विषयमा विवाद नगरी अघि बढ्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे ।
ओलीले देशलाई एमालेले नै सही बाटोमा लैजाने दाबी गर्दै एउटा निर्वाचन हार्दैमा पार्टी कमजोर नहुने बताए । उनले कार्यकर्तालाई उच्च मनोबलका साथ जागरण अभियानमा जुट्न पनि आग्रह गरे ।
