नेपाली विद्वान् र लेखकलाई आफ्नै समाजले कम महत्व दिएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान् र लेखकका विचार तथा लेखलाई भन्दा विदेशी लेखकका रचनालाई बढी महत्व दिने गरेको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले नेपालीले लेखेका तथ्यपूर्ण र तर्कसंगत विचारलाई समेत पर्याप्त महत्व नदिने प्रवृत्ति रहेको बताएका हुन्।

नेपाली समाजमा विदेशी लेखकप्रतिको आकर्षण बढ्दै जाँदा आफ्नै देशका लेखक तथा चिन्तकलाई कम महत्व दिने प्रवृत्ति देखिएको उनको भनाइ छ। उनले नेपाली समाजले आफ्नै ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको पहिचान गर्नुपर्नेमा जोड दिए।

‘हामी आफूकहाँ भएका विद्वान् त्यत्ति चिन्दैनौँ। सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखिएका कुराहरूको उदाहरण कमै गर्नुभएको होला, विदेशीकै उदाहरण गर्नुभएको होला। किनभने नेपालीले लेखेकोलाई त्यत्ति विद्वान् हामी ठान्दैनौँ, त्यसकारण उदाहरण गरिरहनुपर्ने आवश्यकता पनि देख्दैनौँ,’ ओलीले भने, ‘जतिसुकै विद्वान् किन नहोस्, जतिसुकै तर्कपूर्ण तथ्यपूर्ण नहोस्, तर हामी विद्वान् लेखकहरू अलिक बाहिरकै ठान्छौँ।’

उनले स्वदेशी लेखकका रचनालाई अध्ययन तथा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताए। साथै, आफूले छिट्टै नेपाली लेखक तथा चिन्तकहरूसँग बसेर छलफल गर्ने कार्ययोजना बनाएको पनि जानकारी दिए।

नेपाली समाजले आफ्नै देशका विद्वान्, लेखक र चिन्तकका विचारलाई अध्ययन, विमर्श र व्यवहारमा महत्व दिनुपर्नेमा ओलीले जोड दिएका छन्।