बुढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन, १३२ संरचनामा क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन् भने १३२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार बाढीले ४५ वटा घर पूर्ण र २७ वटा घरमा आंशिक क्षति पुर्‍याएको छ।

बाढीबाट दुईवटा पक्की पुल, दुईवटा झोलुंगे पुल, तीनवटा जलविद्युत् आयोजना र चारवटा हवन कुण्डमा क्षति पुगेको छ। त्यस्तै, ३४ वटा गोठ, १२ वटा बंगुरका खोर तथा गोदाम र तीनवटा सवारीसाधनमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतस्थित उङिलुङबाट दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ। बाढी प्रभावित क्षेत्रबाट ८२ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिक रहेका छन्। खोज तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। उद्धार कार्यमा चारवटा सैनिक हेलिकप्टरसमेत प्रयोग गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम्लिङनजिकै उङिलुङ खोलाबाट गेग्रानसहितको बहाव आएर स्यारखोला थुनिएको पाइएको छ। केही समयपछि थुनिएको खोला फुटेर बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको प्रारम्भिक विश्लेषण रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।