भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को सहयोगमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावित परिवारलाई राहत रकम वितरण गरिएको हो। रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका बाढी प्रभावित परिवारले राहत पाएका छन्।

सरकारका अनुसार तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र राहत रकम वितरण गरिसक्ने तयारी छ।

यसअघि असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, लाभग्राहीको प्रमाणीकरण तथा शीघ्र पुनर्लाभको कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।

रेडक्रसलगायत अन्य विकास साझेदारले समेत नगद सहयोग उपलब्ध गराउन चाहेकाले राहत वितरणमा दोहोरोपना हुन नदिन सरकारले सम्बन्धित स्थानीय तह तथा निकायलाई निर्देशन दिएको छ। कुनै पनि वास्तविक प्रभावित परिवार राहतबाट नछुट्ने गरी सहायता वितरणको व्यवस्था मिलाउनसमेत भनिएको छ।

यसैबीच, बाढी प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ।