बंगालको खाडीको न्यूनचापीय प्रणालीलाई लिएर ७७ वटै जिल्लालाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीले नेपालमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै ७७ वटै जिल्लालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

केन्द्रीय विपद् प्रतिकार्य कमाण्ड पोष्ट र ७७ वटै जिल्लाका जिल्ला विपद् प्रतिकार्य कमाण्ड पोष्टबीच भएको भर्चुअल छलफलमा सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा छलफल भएको हो।

छलफलमा रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने प्रक्रियामा भइरहेको प्रगतिलगायतका विषयमा समेत समीक्षा गरिएको थियो।

छलफलका अध्यक्ष डा. उप्रेतीले उच्च सतर्कता अपनाउन प्राधिकरण तथा सम्बन्धित निकायबाट जारी गरिएका पूर्वानुमान, पूर्वसूचना र चेतावनीलाई कडाइपूर्वक पालना गर्न तथा गराउन सबै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए।