काठमाडौं । अब सवारी साधनको दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै सरकारले सवारी दर्ता, नामसारी तथा बीमा प्रक्रियालाई सहज बनाएको छ।
संशोधित व्यवस्थाअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत सवारी दर्ता तथा नामसारी गर्न सक्नेछन्। त्यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।
त्यस्तै, डिलरबाट गरिएको सवारी साधनको जाँचलाई अन्तिम मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेका सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन।
सवारी साधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने व्यवस्था पनि गरिएको छ। यसका लागि यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ।
यसैगरी, सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन।
पूर्वाधार विकास मन्त्रालयले संशोधित व्यवस्थाले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरेको छ।
