गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी ६७ वर्षीय चालक दिलीपकुमार बागले, वालिङ नगरपालिका–१० निवासी ६० वर्षीय शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।

सोही ठाउँकी गोमता पाण्डेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। ५० देखि ५५ वर्ष उमेर समूहकी गोमता हाल स्याङ्जाको वालिङमा बस्दै आएकी थिइन्। त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी बालकृष्ण सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।