बुधबारदेखि वर्षा र हिमपातको सम्भावना, पाँच दिनको मौसममा बदली हुने

काठमाडौं । नेपालमा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिन देशका विभिन्न भूभागमा मौसम बदली हुने अनुमान गरिएको हो।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आजदेखि नै केही भूभागमा आंशिक बदली हुने र बुधबारदेखि वर्षा तथा हिमपातको सम्भावना छ।

उनका अनुसार आज हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ।

महाशाखाका अनुसार मंगलबार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले मौसमको अद्यावधिक सूचना लिएर सोहीअनुसार आवश्यक तयारी गर्न तथा सम्भावित जोखिमबाट बच्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।