काठमाडौं । साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। जितसँगै लुम्बिनीले प्रतियोगितामा २ अंक जोडेको छ।
लुम्बिनीको जितमा डी आर्सी सर्टले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। आशिफ शेखले २५ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे। सर्ट र आशिफबीचको आक्रामक साझेदारीले लुम्बिनीलाई सहज जिततर्फ अघि बढाएको थियो।
सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए। सैफ जैबले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका किशोर महतोले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा २८ रन खर्चिए। शेर मल्लले ३ विकेट लिँदा शाड्ली भान शाल्कविक, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान १ विकेट लिए।
साबिक विजेता लुम्बिनीले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै उपाधि रक्षा अभियानको सुखद् सुरुवात गरेको छ।
