एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटिएको हो।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हरमित सिंह र मोइन अलीले समान १९ रन जोडे। जिमी निशमले १५ तथा मयन यादवले १४ रन बनाए। अनिलकुमार साहले ११ र कुशल परेराले ६ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा जनकपुरले हार बेहोर्नुपर्‍यो।

कर्णालीका बलर युनिस ठकुरी र हुसेन तलातले समान तीन विकेट लिए। नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट हात पारे। कर्णालीका बलरले नियमित अन्तरालमा विकेट लिँदै जनकपुरलाई लक्ष्यसम्म पुग्न दिएनन्।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २९ बलमा चार छक्का प्रहार गरे। पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रन बनाए। दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन जोडे भने गुल्सन झाले १२ रन बनाए।

जनकपुरका कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिँदै दुई विकेट हात पारे। मोइन अलीले पनि दुई तथा ललित राजवंशीले एक विकेट लिए।

कर्णालीले ब्याटिङमा बनाएको योगफललाई बलिङमार्फत रक्षा गर्दै एनपीएलमा विजयी सुरुवात गरेको छ।