सुरम्सरी जन्मिएको दिन घरमा ठूलो खुसी थियो । आँगनभरि आफन्त थिए । भान्साबाट घिउ र ज्वानोको गन्ध आइरहेको थियो । आमाको काखमा सानो, न्यानो शरीर थियो । बाबु बारम्बार छोरीको अनुहार हेर्थे ।
“मेरी छोरी ठूलो भएर आकाश छुन्छे ।”
त्यो दिन सबैले बाबुको कुरा सुनेर हाँसेका थिए । सुरम्सरी भने आमाको काखमा निदाइरहेकी थिई । उसलाई के थाहा—उसका बाबुले देखेको आकाश र उसले पछि भेट्ने आकाश फरक हुनेछ ।
⸻
सुरम्सरी बोल्न ढिला गरी । अरू बच्चाहरू दौडिन थालेपछि पनि ऊ एउटै ठाउँमा बसेर चम्चा घुमाइरहन्थी । झ्यालबाट भुइँमा परेको घाम हेरेर घण्टौँ बस्न सक्थी । घामको टुक्रा कसरी बिस्तारै भित्ताबाट भुइँमा सर्दै जान्छ, उसलाई त्यसैमा संसार भेटिन्थ्यो ।
एक दिन आमाले बोलाइन्—
“सुरम्सरी !”
ऊ फर्किइन ।
“सुरम्सरी !”
फेरि फर्किइन ।
आमा उसको छेउमा पुगिन् ।
“के हेरेकी ?”
सुरम्सरीले भुइँतिर औँला देखाई । घामको एउटा सानो टुक्रा बिस्तारै सर्दै थियो ।
“घाम ।” आमाले भनिन् ।
सुरम्सरीले ओठ चलाइन् ।
“घाम ।”
आमा केही क्षण नबोली बसिन् ।
“फेरि भन ।”
“घाम ।”
त्यो दिन आमाले छोरीलाई धेरै बेर अँगालो हालिन् । सुरम्सरीलाई आमाको अँगालो मन पर्थ्यो । संसारमा धेरै कुरा उसले बुझ्दिनथी, तर आमाको काखको ताप उसले बुझ्थी ।
⸻
पछि अस्पतालले उनीहरूको जीवनमा एउटा नयाँ शब्द थपिदियो—अटिजम । डाक्टरले धेरै कुरा भने । थेरापी, अभ्यास, धैर्य, सिकाइ । ती शब्दहरू आमाबाबुले सुने । सुरम्सरीले भने डाक्टरको टेबलमाथि घुमिरहेको कलम हेरिरही ।
पहिलो दिन थेरापी सेन्टरको ढोकामै ऊ अडिइन ।
“भित्र जाऔँ ।”
आमाले हात तानिन् ।
“जाँदिनँ ।”
“केही हुँदैन ।”
“जाँदिनँ ।”
त्यो दिन ऊ भित्र पसिन । दोस्रो दिन बाबु पनि गए । तेस्रो दिन उनीहरूले उसलाई मन पर्ने रातो बल बोकेर लगे । रातो बल देखेपछि सुरम्सरी ढोकासम्म गई । केही क्षण उभिई । अनि बिस्तारै भित्र पसी ।
थेरापिस्टले मुस्कुराउँदै सोधिन्— “खेलौँ ?”
सुरम्सरीले बल छातीमा च्यापी ।
“रातो ।”
“हो, रातो ।”
त्यो दिन थेरापी सेन्टरको ढोका उसले आफैँ पार गरेकी थिई । घर फर्किएपछि बाबुले मिठाई ल्याए ।
“आज हाम्रो छोरीले ठूलो काम गरी ।”
सुरम्सरीलाई मिठाईभन्दा रातो बल प्यारो थियो । उसले बल समातेर आँगनको कुनामा बसेर खेलिरही । बाबुआमा भने टाढाबाट उसलाई हेरिरहे ।
⸻
सुरम्सरीको संसार आफ्नै लयमा चल्थ्यो । चिया राख्ने कप एउटै ठाउँमा हुनुपर्थ्यो । बिहान उठेपछि पर्दा आफैँ खोल्नुपर्थ्यो । कसैले पहिले खोलिदियो भने उसको अनुहारमा असन्तुष्टि देखिन्थ्यो ।
एक बिहान आमाले हतारमा पर्दा खोलिदिइन् ।
“म !”
सुरम्सरी रिसाई ।
आमाले तुरुन्त पर्दा छोडिन् ।
“हुन्छ, तिमी नै खोल ।”
सुरम्सरीले फेरि पर्दा बन्द गरी । अनि आफैँ खोली । घाम कोठाभित्र पस्यो ।
बाबु हाँसे ।
“हाम्रो घरमा घाम पनि सुरम्सरीको अनुमति लिएर आउँछ ।”
सुरम्सरी बाबुतिर हेरी । उसको हाँसो आवाज बनेर निस्किएन । तर आँखाका कुनामा केही उज्यालो भयो ।
बाबुले त्यो देखे ।
“ल, हाँसी ।”
सुरम्सरीले फेरि घामतिर हेरी । उसको संसारमा खुसी पनि कहिलेकाहीँ आवाजबिनै आउँथ्यो ।
⸻
विद्यालय जाने उमेर भयो । पहिलो दिन विद्यालयको गेटमा पुगेपछि सुरम्सरीले आमाको हात कसिलोसँग समाती ।
“घर ।”
“स्कुल जाने ।”
“घर ।”
त्यतिबेला उसलाई वरिपरिका आवाजहरू सबै एकैपटक टाउकोभित्र पसिरहेको जस्तो लाग्थ्यो । घण्टी । बच्चाहरूको हाँसो । गाडीको हर्न । शिक्षिकाहरूको आवाज । सबै मिसिएर ठूलो आवाज बन्थ्यो ।
उसले आमाको हात झन् कसिलो समाती । पछि धेरै वर्षसम्म पनि बजारको भीडमा उसलाई यस्तै हुन्थ्यो । उसको संसारमा आवाजहरू कहिलेकाहीँ आवाज मात्र हुँदैनथे—ती शरीरभरि फैलिने कम्पन हुन्थे । त्यसैले भीडमा ऊ आमाको हात खोज्थी । आमाको हात भेटिएपछि संसार केही शान्त हुन्थ्यो ।
तर त्यो पहिलो दिन विद्यालयमा एउटी शिक्षिका उसको अगाडि घुँडा टेकेर बसिन् ।
“तिमीलाई चित्र बनाउन मन पर्छ ?”
सुरम्सरी चुप । शिक्षिकाले कागज र रङ दिइन् । सुरम्सरीले रातो रङ उठाई । कागजभरि एउटा ठूलो गोलो घेरा कोरी ।
“यो के हो ?”
केही बेरपछि सुरम्सरीले भनिन्—“घाम ।”
त्यो एउटा शब्दले शिक्षिकाले उसको लागि अर्को ढोका भेटिन् । शब्दभन्दा पहिले चित्र । चित्रबाट संख्या । रङबाट भावना । कागजबाट संवाद ।
सुरम्सरीले सिक्न थाली । तर अरूको गतिमा होइन । आफ्नै गतिमा ।
⸻
वर्षहरू बिते । सुरम्सरी पनि बढ्दै गई । उसका उमेरका केटीहरू स्कुलबाट फर्किएर साथीहरूसँग खेल्थे । पछि कसैले कलेज पढे, कसैले जागिर सुरु गरे, कसैको विवाह भयो ।
सुरम्सरी भने आफ्नो संसारलाई विस्तार गर्दै थिई । उसले आफ्नो ओछ्यान आफैँ मिलाउन सिकिन् । कपडा तह लगाउन सिकिन् । भान्सामा आमालाई सघाउन सिकिन् ।
पहिलोपटक चामल धुँदा आधा चामल भुइँमा खस्यो । आमा एकछिन चुप लागिन् । सुरम्सरीले आमाको अनुहार हेरी ।
“फेरि ।”
आमाले भनिन्— “हो, फेरि गर ।”
उसले भुइँमा खसेको चामल टिपी । फेरि भाँडामा राखी । दोस्रोपटक केही कम खस्यो । तेस्रोपटक अझ कम । केही महिनापछि उसले राम्ररी चामल धुन थाली ।
एक बिहान आमा बिरामी भएर ओछ्यानमै थिइन् । सुरम्सरी भान्सामा गई । चामल धोई । कुकरमा राखी । ग्यास बाल्न भने अझै सहयोग चाहिन्थ्यो । ऊ आमाकहाँ आई ।
“आमा ।”
“के भयो ?”
“भात ।”
आमा बिस्तारै उठिन् । भान्सामा पुग्दा कुकर तयार थियो । आमाले छोरीलाई हेरिन् ।
“तिमीले बनाएकी ?”
सुरम्सरीले टाउको हल्लाई । आमाले उसको निधारमा चुमिन् ।
“आज मेरो छोरीले मलाई भात खुवाउने भई ।”
सुरम्सरी चुप रहिन् । तर उसको अनुहारमा सानो मुस्कान आयो । उसलाई आमाको आँखामा आएको चमक मन पर्यो ।
⸻
सुरम्सरीलाई चराहरू पनि मन पर्थे । उनीहरूलाई हेर्दा उसलाई आफूजस्तै लाग्थ्यो । चराहरू धेरै टाढा जान्थे । तर साँझ परेपछि फर्किन्थे ।
उसले कागजमा रूख कोर्थी । त्यसमाथि चराहरू । आकाशभरि चराहरू ।
एक दिन बाबुले उसको चित्र हेरेर सोधे—
“यी सबै कहाँ जाँदैछन् ?”
सुरम्सरीले केहीबेर चित्र हेरी ।
“घर ।”
“चराहरू घर जाँदैछन् ?”
“हो ।”
“कहाँ छ उनीहरूको घर ?”
उसले आफ्नो छातीमा हात राखी ।
“यहाँ ।”
बाबु चुप भए । त्यसपछि मुस्कुराउँदै भने— “अनि हाम्रो घर ?”
सुरम्सरीले केही भनिन । उसले बाबुको हात समाती । अर्को हात आमाको । दुवै हात आफ्नो छातीमा राखी ।
“यहाँ ।”
त्यो दिनदेखि बाबुले सुरम्सरीका चित्रहरू अलि फरक आँखाले हेर्न थाले ।
⸻
एक दिन पुरानो दराज सफा गर्दा सुरम्सरीले एउटा फोटो भेटी । फोटोमा ऊ सानी थिई । आमाको काखमा । बाबु छेउमा ।
उसले फोटो हातमा लिई ।
“म ।”
“हो,” आमाले भनिन्, “तिमी ।”
ऊ फोटो लिएर बाबुकहाँ गई ।
“बाबा ।”
“हूँ ?”
“सानो ।”
बाबुले फोटो हेरे ।
“हो, सानी थियौ ।”
सुरम्सरीले केही बेर फोटो हेरिरही । अनि बाबुको कपालमा हात राखी ।
“बूढो ।”
बाबु हाँसे ।
“म बूढो भएँ ?”
सुरम्सरीले टाउको हल्लाई । फेरि आमातिर हेरी ।
“आमा पनि ।”
आमा चुप लागिन् । सुरम्सरीले दुवैलाई पालैपालो हेरी । उसको स्वर निकै सानो थियो ।
“म छु ।”
आमाको आँखामा पानी आयो ।
“हो छोरी ।”
सुरम्सरीले आमाको गाला छोई । उसले आँखाको पानी बुझिन । तर पुछिदिई ।
⸻
त्यसपछि उसले बाबुआमालाई अझ ध्यान दिएर हेर्न थाली । बाबु खोक्दा पानी ल्याउँथी । आमाको घुँडा दुख्दा तेल खोजेर ल्याउँथी । बाबु बजार गएर ढिला फर्किंदा झ्यालमा बसेर बाटो हेर्थी ।
एक दिन साँझ बाबु ढिला भए । आमाले भनिन्—“आउँछन् ।”
सुरम्सरीले घडी हेरी । फेरि ढोकातिर । फेरि घडी । बाहिर अँध्यारो हुँदै गयो ।
अन्ततः ढोकामा आवाज आयो ।
“बाबा !”
सुरम्सरी दौडेर गई । बाबु उभिएका थिए । उसले उनको हात समाती ।
“आउनु ।”
“कहाँ ?”
“घर ।”
बाबु मुस्कुराए ।
“म त घरमै छु ।”
सुरम्सरीले टाउको हल्लाई ।
“भित्र ।”
बाबुले केही क्षण छोरीलाई हेरे । अनि उसको हात समातेर भित्र पसे ।
⸻
तर जीवनमा केही दिनहरू यस्ता पनि आए, जब सुरम्सरीको संसार फेरि ठूलो र डर लाग्दो हुन्थ्यो । त्यस्तै एउटा दिन बजारमा भयो ।
धेरै मानिस । धेरै आवाज । धेरै गन्ध । आमाको हात उसको हातमा थियो । अचानक कसैले आमालाई धक्का दियो । हात छुट्यो ।
सुरम्सरी केही क्षण त्यहीँ उभिई । सबै मानिस अपरिचित देखिए । आमाको अनुहार कतै थिएन । उसको छातीभित्र केही बेस्सरी धड्किन थाल्यो ।
ऊ दौडिन सक्थी । तर कता ?
उसले एउटा पसलको कुनामा रातो फूल देखी । रातो फूल । आमालाई रातो फूल मन पर्थ्यो । ऊ त्यहीँ गई ।
पसलवालाले सोधे—“कसलाई चाहियो ?”
सुरम्सरीले फूलतिर हेरी ।
“आमा ।”
करिब आधा घण्टापछि आमा दौडिँदै आइन् । उनको अनुहार सेतो थियो ।
“सुरम्सरी ?”
आमाले उसलाई अँगालो हालिन् । धेरै कसिलोसँग । सुरम्सरीलाई दुख्यो । तर उसले केही भनिन । उसले हातमा भएको फूल आमाको हातमा राखी ।
“आमालाई ।”
आमाले फूल हेरिन् । फेरि छोरीलाई ।
“मेरो लागि ?”
सुरम्सरीले टाउको हल्लाई । आमाको आँखाबाट आँसु झर्यो । सुरम्सरीले त्यो आँसु फेरि बुझिन । तर यसपटक उसले आमाको गाला पुछिदिई ।
⸻
त्यो घटनापछि बाबुआमाले सुरम्सरीलाई अझ धेरै कुरा आफैँ गर्न सिकाउन थाले । कपडा मिलाउन । आफ्नो झोला तयार गर्न । भान्साका सामान ठाउँमा राख्न । सानो पसलसम्म गएर सामान किन्न ।
सुरुमा गल्ती हुन्थ्यो । कहिलेकाहीँ सामान बिर्सिन्थी । कहिलेकाहीँ मानिसको प्रश्नले अलमलिन्थी । कहिलेकाहीँ घर फर्केर रिसाउँथी । कहिलेकाहीँ कोठामा गएर कान थुन्थी ।
त्यस्तो बेला आमा उसको छेउमा चुपचाप बसिरहन्थिन् । बाबु पनि धेरै प्रश्न सोध्दैनथे । उनीहरू बिस्तारै सिकिरहेका थिए—सुरम्सरीलाई आफ्नो तरिकाले संसारमा ठाउँ बनाउन दिनुपर्छ ।
⸻
उमेरसँगै बाबुको कपाल सेतो हुँदै गयो । आमाको कपालमा पनि सेता धागा बढ्दै गए । सुरम्सरीले ती धागाहरू देख्न थाली ।
एक साँझ ऊ आमाको पछाडि बसेर कपाल कोर्दै थिई । पहिले आमाले उसको कपाल कोर्थिन् । आज सुरम्सरी आमाको ।
काइँयो चलाउँदा कहिलेकाहीँ कपाल तानिन्थ्यो ।
“आइया !”
आमाले भनिन् ।
सुरम्सरीले तुरुन्त हात रोकी ।
“दुख्यो ?”
“अलिकति ।”
ऊ बिस्तारै फेरि काइँयो चलाउन थाली । उसले आमाको कपालमा सेता धागाहरू गनी । एक । दुई । तीन । धेरै ।
“आमा ।”
“हूँ ?”
“सेतो किन ?”
आमा मुस्कुराइन् ।
“उमेर भएर ।”
सुरम्सरीले बाबुको कपाल सम्झी । त्यो पनि सेतो थियो । उसले आमाको टाउको आफ्नो काखमा राखी ।
“सुत ।”
आमा केही क्षण उसलाई हेरिरहिन् । अनि आँखा बन्द गरिन् । सुरम्सरी कपाल चलाइरही ।
त्यो साँझ उसले पहिलोपटक आफूलाई बच्चाजस्तो मात्र महसुस गरिन ।
⸻
केही दिनपछि आमा फेरि बिरामी परिन् । बाबु औषधि लिन बाहिर गएका थिए ।
“सुरम्सरी, पानी ।”
सुरम्सरी उठी । भान्सामा गई । गिलास भरिन् । आमालाई दिई । केहीबेरपछि फेरि उठी । तकिया मिलाई । झ्याल बन्द गरी । कम्बल तानी ।
आमाले छोरीलाई हेरिरहिन् ।
“तिमीले मेरो हेरचाह गर्छौ ?”
सुरम्सरीले टाउको हल्लाई ।
“आमा बिरामी ।”
“हो ।”
“आमा सुत ।”
आमाको आँखामा पानी भरियो । सुरम्सरीले हातले आँसु पुछिदिई । उसलाई पानीको अर्थ थाहा थियो । तर आँखाबाट निस्कने पानीको अर्थ अझै पूर्ण रूपमा थाहा थिएन ।
त्यस दिन उसले आमाको टाउको आफ्नो काखमा राखेर धेरै बेर बसिरही ।
⸻
बाबुआमा बूढा हुँदै जाँदा उनीहरूको डर पनि बढ्दै गयो । एक रात बाबुले बिस्तारै भने— “हामीपछि यसको के होला ?”
आमाले लामो सास फेरिन् । कोठाको कुनामा सुरम्सरी चित्र बनाइरहेकी थिई । उसले उनीहरूको कुरा सुनेकी थिई कि थिएन—थाहा भएन ।
तर केहीबेरपछि उसले कागजमा एउटा ठूलो घर बनाइ । घरमाथि आकाश । आकाशमा धेरै चराहरू । र घरको ढोकामा तीन जना मानिस ।
उसले चित्र बाबुकहाँ ल्याई ।
बाबुले सोधे— “यो के हो ?”
सुरम्सरीले घर देखाई ।
“घर ।”
“यी ?”
उसले पहिले आमालाई देखाई ।
“आमा ।”
बाबुलाई देखाई ।
“बाबा ।”
अनि आफूलाई ।
“म ।”
बाबुले माथिका चराहरू देखाउँदै सोधे—“यी ?”
सुरम्सरी केहीबेर चुप लागी । अनि भनिन्—“हामी ।”
बाबुको औँला चित्रमै रोकियो ।
⸻
त्यो रात सुरम्सरी आमाको छेउमा सुतिन । बाबु पनि त्यहीँ थिए । कोठामा मधुरो बत्ती बलिरहेको थियो ।
सुरम्सरीले एक हात आमातिर बढाई । अर्को बाबुतिर । दुवैको हात समाती । अनि आफ्नै छातीमाथि राखी ।
उसको ओठ हल्लियो ।
“यहाँ ।”
बाबुले उसको अनुहार हेरे ।
“के ?”
सुरम्सरीले फेरि छातीमा हात थिची ।
“घर ।”
बाहिर कतै एउटा चरा करायो । रात गहिरिँदै गयो । बाबुको सेतो कपालमा बत्तीको उज्यालो परेको थियो । आमाको कपालमा पनि ।
सुरम्सरीले दुवैलाई हेरिरही । उसले भोलि के हुन्छ भन्ने सबै कुरा जान्दिनथी । उसलाई आफ्नो भविष्यको नक्सा पनि थाहा थिएन । तर उसलाई एउटा कुरा थाहा थियो—बाबुको हात चिसो हुँदा समात्नुपर्छ । आमा थाक्दा कपाल कोर्नुपर्छ । हराएपछि घर फर्किनुपर्छ ।
र घर भनेको चार भित्ताभन्दा अलि परको कुरा हो । त्यो तीन जनाबीचको एउटा ठाउँ हो, जहाँ आवाजहरू शान्त हुन्छन् । जहाँ कसैले कसैलाई हतार गर्दैन । जहाँ सुरम्सरीले बोल्न नसकेका कुरा पनि कसैले सुन्छ ।
झ्यालबाहिर चराहरू अँध्यारो आकाशमा हराइसकेका थिए । तर बिहान फेरि घाम आउने थियो । सुरम्सरीलाई घाम समात्न आउँदैनथ्यो । चराहरूझैँ टाढासम्म उड्न पनि आउँदैनथ्यो ।
तर त्यो रात उसले बाबुआमाका हात आफ्नै छातीमा राखेर पहिलोपटक महसुस गरी—उड्नु मात्रै अगाडि बढ्नु होइन रहेछ । कहिलेकाहीँ कसैको हात समातेर, उसलाई पनि साथमा लिएर हिँड्नु नै आफ्नो उडान रहेछ ।
