काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए । त्यस्तै, इशान पाण्डेले ३७, ब्रान्डन म्याकमुलनले २२ र सैफ जैबले १५ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । महेदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१, सकिब हसनले १४ र धनञ्जय लक्षणले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि अनिल खरेलले ३ विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेइनले समान एक–एक विकेट हात पारे ।
१४६ रनको लक्ष्य सहज रूपमा पूरा गर्दै सुदूरपश्चिमले एनपीएलमा महत्त्वपूर्ण जित दर्ता गरेको छ ।
