बालिका अपहरण आरोपीलाई प्रहरीले हान्यो गोली

रुपन्देही, १८ असोज । तिलोत्तमाबाट १० वर्षीया बालिका अपहरण गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवराज थारुलाई गोली हानेर पक्राउ गरेको छ ।

तिलोत्तमा–१७ का थारुलाई आइतबार राति कान्छी बजारस्थित जंगलबाट पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ ।

थारुले बुधबार राति घरमा सुतिरहेकी बालिकालाई अपहरण गरेको प्रहरीको भनाइ छ । अपहरण भएको करिब ३८ घण्टापछि शुक्रबार साँझ बालिकालाई सोही क्षेत्रको जंगलबाट सकुशल उद्धार गरिएको थियो ।

उद्धारस्थलमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले थारुको पहिचान गरेको जनाएको छ । त्यसपछि उनी जंगलमै लुकेर बसेको आशंकामा प्रहरीले खोजी तीव्र बनाएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार बालिकाको सकुशल उद्धारपछि आरोपीको खोजी गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।