काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन विगतका अधिवेशनभन्दा केही फरक हुने भएको छ । युवा र महिलाको प्रतिनिधित्व बढाउनेदेखि विदेशमा रहेका कांग्रेसजनलाई केन्द्रीय संरचनामा समेट्ने, डिजिटल माध्यमको प्रयोग गर्ने र महाधिवेशनलाई भड्किलो नबनाउनेसम्मका व्यवस्था यसपटक देखिनेछन् ।
कांग्रेसको १५औँ महाधिवेशनका मुख्य १८ नयाँ पक्ष यस्ता छन् :
१. ३५ वर्षमुनिका युवालाई सुनिश्चित स्थान
वडादेखि केन्द्रसम्म ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । विधानमै व्यवस्था गरेर युवालाई पार्टीको नेतृत्व संरचनामा ल्याउने बाटो खोलिएको हो ।
२. केन्द्रमा २१ युवा
केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा निर्वाचित हुनेछन् । प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याइनेछ ।
३. महिलालाई कम्तीमा एकतिहाइ
पार्टीका विभिन्न तहका कार्यसमितिमा महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ ।
४. सहमहामन्त्री ११ जना
कांग्रेसमा सहमहामन्त्रीको संख्या बढाइएको छ । यसपटक आठको सट्टा ११ जना सहमहामन्त्री रहनेछन् ।
५. ‘ल्याटरल इन्ट्री’को बाटो खुला
पार्टी राजनीतिबाहेक विभिन्न क्षेत्र, पेसा र व्यवसायमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि कांग्रेसको मूल नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ । यही प्रक्रियाबाट सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
६. विदेशमा रहेका कांग्रेसजन पनि केन्द्रमा
नेपाली जनसम्पर्क समितिबाट आएका प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।
७. समावेशी दायरा फराकिलो
अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ ।
८. कांग्रेसको केन्द्र अब २३२ सदस्यीय
नयाँ व्यवस्थाअनुसार केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ । १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुनेछन् ।
९. औपचारिक प्यानल नबनाउने
यसपटक विगतमा जस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगर्ने बताइएको छ । प्रतिनिधिले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्ने भनिएको छ ।
१०. प्रदेशअनुसार बन्दसत्र
हजारौँ प्रतिनिधिलाई एउटै हलमा राखेर छलफल गराउने शैलीबाट अलग हुँदै विभिन्न समूहमा विभाजन गरेर राजनीतिक, सांगठनिक र नीतिगत दस्तावेजमाथि छलफल गराउने तयारी छ ।
११. हिमाल, पहाड र तराई–मधेस नामका तीन हल
बन्दसत्रका लागि तीन ठूला संरचना तयार गरिएका छन् । छलफल हुने हललाई हिमाल, पहाड र तराई–मधेस नाम दिइएको छ ।
१२. प्रतिवेदन डिजिटल माध्यमबाट
महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज प्रतिनिधिलाई डिजिटल माध्यमबाट पनि उपलब्ध गराउने तयारी छ ।
१३. प्रतिनिधिको सुझाव अभिलेखमा
महाधिवेशनमा उठेका धारणा, सुझाव र बहसलाई अभिलेखका रूपमा सुरक्षित गर्ने तयारी गरिएको छ । प्राप्त सुझावका आधारमा अन्तिम दस्तावेज तयार गर्ने भनिएको छ ।
१४. डिजिटल मतदानको योजना असफल
कांग्रेसले विद्युतीय मतदानको तयारी गरेको थियो । तर प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै फर्किएको छ ।
१५. प्रचारमा डिजिटल जोड
काठमाडौंका सडकमा ठूला गेट, होर्डिङ बोर्ड, तोरण र अत्यधिक झण्डा राख्ने परम्परालाई निरुत्साहित गरिएको छ । उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ ।
१६. उद्घाटन र बन्दसत्र एउटै ठाउँमा
१५औँ महाधिवेशनको उद्घाटन र बन्दसत्र काठमाडौंको खुलामञ्चमै गर्ने तयारी गरिएको छ । ठूलो संख्यामा प्रतिनिधि व्यवस्थापन हुने गरी संरचना तयार गरिएको छ ।
१७. विपद्का कारण भड्किलो प्रचारमा रोक
देशले प्राकृतिक विपद्को सामना गरिरहेका बेला महाधिवेशनलाई अत्यधिक खर्चिलो र भड्किलो नबनाउने नीति कांग्रेसले लिएको छ । सहरभरि प्रचार सामग्री र सजावट गर्ने शैलीलाई सीमित गरिएको छ ।
१८. ‘कांग्रेस २.०’को सन्देश
यसपटक नेतृत्व चयनसँगै पार्टीको आगामी दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकालाई पनि बहसको केन्द्रमा राखिएको छ । ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत नयाँ शैलीको कांग्रेस निर्माणको सन्देश दिन खोजिएको छ ।
