जनमतको कमान्ड फेरि सीके राउतकै हातमा, सञ्जय यादव महासचिव

काठमाडौं, १८ असोज । जनमत पार्टीको नेतृत्वमा डा. सीके राउतले पुनः निरन्तरता पाएका छन् । वीरगञ्जमा सम्पन्न महाधिवेशनको निर्वाचनबाट राउत अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा राउतको मात्रै उम्मेदवारी परेको थियो । तर, विधानले अध्यक्षका उम्मेदवारले सदर मतको कम्तीमा २० प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था गरेकाले उनको पक्षमा पनि मतदान भएको थियो । राउतले ९५८ मत पाए ।

महासचिवमा भने सिरहाका सञ्जयकुमार यादवले बाजी मारे । उनले ६१८ मत ल्याउँदा ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत प्राप्त गरे ।

उपाध्यक्षमा सात जना निर्वाचित भएका छन् । अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंहले उपाध्यक्षमा स्थान बनाए ।

उपमहासचिवमा निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी हुँदा ललितचन्द्र मल्लिकले ४१४ मत पाए ।

सचिवका सात पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् ।

२६ पदाधिकारीसहित ९९ पदका लागि भएको निर्वाचनले जनमतको शीर्ष नेतृत्वमा राउतलाई पुनः स्थापित गरेको छ भने महासचिवमा सञ्जयकुमार यादवको उदय भएको छ ।