काठमाडौं, १८ असोज । समाचार लेख्दै आएका पत्रकारहरू अब कांग्रेसको नेतृत्व लेख्ने दौडमा छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका सात नेता नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका छन् । एक जना सहमहामन्त्री र छ जना केन्द्रीय सदस्य बन्ने दौडमा छन् ।
कहिले समाचार कक्षमा सत्तालाई प्रश्न गर्ने यी अनुहार अहिले पार्टीभित्रै नीति, नेतृत्व र संगठनको निर्णायक तहमा पुग्ने प्रयासमा छन् । पत्रकारिताबाट राजनीतिको मूलधारमा पुगेका उनीहरूको उम्मेदवारीले कांग्रेस महाधिवेशनमा सञ्चार क्षेत्रको उपस्थिति पनि उल्लेख्य देखाएको छ ।
सहमहामन्त्रीको दौडमा रहेका अजयबाबु शिवाकोटी पत्रकारिताबाट कांग्रेस राजनीतिमा आएका चर्चित अनुहार हुन् । १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी अहिले पार्टी राजनीतिमै सक्रिय छन् । नेपाल प्रेस युनियनका पूर्वमहासचिवसमेत रहेका शिवाकोटी दोलखाबाट महाधिवेशन प्रतिनिधि बनेका छन् । उनले १५औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
केन्द्रीय सदस्यको दौडमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल पनि छन् । दाङबाट महाधिवेशन प्रतिनिधि बनेका पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
वरिष्ठ पत्रकार तथा देशान्तर मिडिया नेटवर्कका प्रमुख कविर राणा पनि कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा छन् ।
पत्रकार महासंघको नेतृत्वमा रहिसकेकी बाला अधिकारी पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छिन् । कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी अधिकारी यसपटक पनि नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्दैछिन् । कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी निर्णय प्रक्रियामा उनको नाम केन्द्रीय सदस्यका रूपमा समेत उल्लेख छ ।
नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजङ्ग शाह पनि अब पत्रकारिताको अनुभवलाई पार्टी राजनीतिमा विस्तार गर्ने प्रयासमा छन् । जाजरकोटबाट महाधिवेशन प्रतिनिधि बनेका शाहले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
प्रेस युनियनका वर्तमान अध्यक्ष शिव लम्साल पनि केन्द्रीय सदस्यको दौडमा छन् । महाधिवेशन व्यवस्थापनका लागि कांग्रेसले गठन गरेको सूचना, सञ्चार तथा प्रविधि समितिमा समेत लम्साललाई सदस्यको जिम्मेवारी दिइएको छ ।
युवा पुस्ताबाट कमला हमाल पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिने तयारीमा छिन् । लुम्बिनी प्रदेशबाट युवा उमेर समूहअन्तर्गत महिलातर्फ उनको उम्मेदवारी रहने बताइएको छ ।
यसरी हेर्दा कांग्रेसको १५औँ महाधिवेशनमा कलम चलाउनेदेखि पार्टी चलाउने आकांक्षासम्म पुगेका सात पत्रकार एकैपटक नेतृत्वको दौडमा देखिएका छन् । पत्रकारिताबाट राजनीतिमा आएका यी अनुहारको प्रतिस्पर्धाले कांग्रेसभित्र सञ्चार क्षेत्रको राजनीतिक प्रभाव र पत्रकारिताबाट सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने प्रवृत्तिलाई थप चर्चामा ल्याएको छ ।
