कांग्रेसको नेतृत्व ८० क्लस्टरबाट चयन हुने, केन्द्रीय समिति २९७ सदस्यीय

  • संशोधित विधानमा खुला, महिला, युवा र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्वको व्यवस्था।
  • चार उपसभापति र तीन महामन्त्रीमध्ये कम्तीमा एक–एक महिला अनिवार्य।
  • मनोनयन दर्तापछि निर्वाचन प्रक्रिया अघि बढ्ने, असोज २२ गते मतदानको कार्यतालिका।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति विभिन्न ८० क्लस्टरबाट चयन हुने भएको छ। सोमबारको बन्दसत्रले पारित गरेको संशोधित विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको निर्वाचनमा खुला प्रतिस्पर्धासँगै महिला, युवा र विभिन्न समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

नयाँ नेतृत्व चयनका लागि मंगलबार मनोनयन दर्ताको प्रक्रिया अघि बढेको छ। त्यसपछिका निर्वाचन प्रक्रिया पूरा गरी असोज २२ गते मतदान गर्ने कार्यतालिका छ।

संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। पदाधिकारीतर्फ एक सभापति, एक वरिष्ठ उपसभापति र चार उपसभापति रहनेछन्। उपसभापतिमध्ये कम्तीमा एक महिला अनिवार्य गरिएको छ। तीन महामन्त्रीमध्ये दुई खुला प्रतिस्पर्धाबाट र एक महिला कोटाबाट निर्वाचित हुनेछन्।

सहमहामन्त्रीको संख्या १५ कायम गरिएको छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत गरिने व्यवस्था छ। पार्टीको नयाँ संरचनामा प्रवक्ता तथा सहप्रवक्ताको व्यवस्था पनि समेटिएको छ।

केन्द्रीय सदस्यतर्फ खुला प्रतिस्पर्धाबाट ४५ र महिला खुलाबाट १५ जना निर्वाचित हुनेछन्। आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारु र मुस्लिमलगायत समुदायका लागि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ। विभिन्न समावेशी समूहभित्र पनि महिलाका लागि स्थान निर्धारण गरिएको छ।

पिछडिएको क्षेत्र, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिबाट समेत सदस्य चयन हुनेछन्। प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित परिवारलाई पनि प्रतिनिधित्व दिइएको छ।

युवा सहभागिताका लागि सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा महिला तथा खुला समूहको व्यवस्था गरिएको छ। काठमाडौं उपत्यका, पेशागत तथा विषयगत क्षेत्र र श्रमिकबाट पनि सदस्य निर्वाचित हुनेछन्।

प्रवासमा रहेका नेपाली जनसम्पर्क समितिका लागि क्षेत्रगत कोटा निर्धारण गरिएको छ। निर्वाचनबाट चयन हुने सदस्यबाहेक थप ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न सकिने प्रावधान संशोधित विधानमा राखिएको छ।