काठमाडौं । नेकपा (एमाले) ले पार्टीविरुद्ध भएका चौतर्फी हमलाको आवश्यक प्रतिकार गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेको निष्कर्ष निकालेको छ। यही असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकपछि एमाले केन्द्रीय कार्यालयले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा निर्वाचन परिणामले पार्टीलाई गहिरो चोट पु¥याएको उल्लेख गरिएको छ।
अपानीमा निर्वाचनको परिणाम सिट संख्यामा मात्रै सीमित नरहेको उल्लेख गर्दै गाउँगाउँका कार्यकर्ताको मनमा समेत त्यसको असर परेको जनाइएको छ। जनतासँगको सम्बन्धका विषयमा प्रश्न उठेको तथा युवाहरूले पार्टीको धारणा सुन्नुअघि नै आफ्नै धारणा बनाइसकेको अवस्थाप्रति पनि एमालेले आत्मसमीक्षा गरेको छ।
‘निर्वाचनको परिणामले हामीलाई गहिरो चोट पु¥याएको छ। त्यो चोट सिट संख्यामा मात्रै सीमित छैन। गाउँगाउँका कार्यकर्ताको मनमा पनि छ। जनतासँगको हाम्रो सम्बन्धका बारेमा उठेको प्रश्नमा पनि छ। युवाहरुले हामीले सुन्नुअघि नै धारणा बनाइसकेको अवस्थामा छ,’ अपानीमा भनिएको छ।
एमालेले आफ्नो गौरवपूर्ण इतिहास, योगदान र उपलब्धिहरू ओझेलमा पारिएको पीडासमेत निर्वाचन परिणामसँग जोडिएको उल्लेख गरेको छ। उक्त पीडा र चोटलाई निराशामा नभई संकल्प, शक्ति र सक्रियतामा बदल्नुपर्ने निष्कर्ष पार्टीले निकालेको छ।
‘यो गहिरो पीडा र चोटले दुईवटा बाटो देखाउँछ। पहिलो, दुःख मानेर चुप लागेर बस्ने वा भाग्ने, दोस्रो, दुःखलाई संकल्प, शक्ति र सक्रियतामा बदल्ने। हामीले दोस्रो बाटो रोज्नु पर्दछ,’ अपानीमा उल्लेख छ।
अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षको हैसियतले निर्वाचन परिणामप्रतिको नैतिक जिम्मेवारी स्वीकार गरेको एमालेले जनाएको छ। साथै, उनले एमालेविरुद्ध चौतर्फी हमला भएको र त्यसको आवश्यक प्रतिकार गर्न नसकिएको बताएका छन्।
‘सत्य हो– हामीले बैरीको चौतर्फी हमलाको आवश्यक प्रतिकार गर्न र त्यसलाई पराजित गर्न सकेनौ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै अपानीमा भनिएको छ।
ओलीले जनतासम्म पार्टीको कुरा किन पुग्न सकेन, सरकारले गरेका काम जनताको स्मृतिमा किन टिकाउन नसकियो, शासनमा रहँदा जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तनको अनुभूति पर्याप्त रूपमा किन दिन सकिएन र युवाको बेचैनीलाई पार्टीले सुनेको विश्वास किन दिलाउन नसकियो भन्ने प्रश्न उठाएका छन्।
त्यस्तै, संगठनका कतिपय तह किन सुस्त भए र डिजिटल युगमा एमालेको आवाज किन कमजोर भयो भन्ने विषयमा समेत आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्।
‘यस्ता प्रश्नहरु हामी आफैले महसुस गरेका छौँ। यी प्रश्नहरुबाट हामी भाग्ने होइन, समाधान गरेरै अघि बढ्नु पर्दछ,’ अपानीमा उल्लेख छ।
