एमालेविरुद्धको घेराबन्दी अझै जारी छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नजिकिँदै गर्दा पनि एमालेविरुद्धको घेराबन्दी जारी रहेको बताएका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले विगतमा पटक–पटक पार्टीलाई घेराबन्दी गर्ने प्रयास भएको उल्लेख गर्दै अहिले पनि त्यस्तो अवस्था कायम रहेको बताएका हुन्।

ओलीले लोकतन्त्र मासिएको तथा राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य रहेको बताए। राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने उनको भनाइ थियो।

अध्यक्ष ओलीले पार्टीलाई सशक्त रूपमा अघि बढाउनुपर्ने भन्दै आन्तरिक विरोध र असहमतिमा अल्झिन नहुने धारणा राखे। पार्टीको उद्देश्य र लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने तथा सत्य, समानता र मानवताको बाटोमा हिँड्ने उद्देश्य एमालेले बोकेको उल्लेख गर्दै ओलीले साना–मसिना गलत कुरामा अल्झिन नहुने बताए।