जसपा नेपाल छाडेर ‘हुंकार मधेश’ अभियानमा

काठमाडौं, १८ असोज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टी परित्याग गरेर ‘हुंकार मधेश’ अभियानमा जोडिएका छन् ।

पार्टी छाड्नेमा पूर्वसांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो. युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभाग सदस्य घणश्याम शर्मा र पुष्पराज चमन छन् ।

उनीहरुले आइतबार जारी गरेको संयुक्त विज्ञप्तिमार्फत जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् ।

पार्टी परित्याग गरेका चारै नेताले अब ‘हुंकार मधेश’ अभियानमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने घोषणा गरेका छन् ।

यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका थिए । उनीहरुले असोज ९ गते काठमाडौंमा ‘हुंकार मधेश’ नामक नयाँ राजनीतिक अभियान सुरु भएको घोषणा गरेका थिए ।

जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीबाट नेताहरु बाहिरिएसँगै ‘हुंकार मधेश’ अभियानमा मधेशकेन्द्रित दलका नेताहरुको आकर्षण बढ्दै गएको देखिएको छ ।