वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्ने दुईवटा अध्यादेश जारी गरेका छन्। मंगलबार राष्ट्रपति पौडेलले ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा दुवै अध्यादेश जारी गरिएको हो।

यसअघि सरकारले विपद्सम्बन्धी अध्यादेशसमेत जारी गरेको थियो। विपद्मा हराइरहेका व्यक्तिलाई मृत घोषणा गर्ने अवधि छोट्याउने व्यवस्थासहित असोज २३ गते ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी भएको थियो।

यससँगै सरकारले हालैका दिनमा विभिन्न कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश जारी गरेको छ।