काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन्।
सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिएकी हुन्।
उनले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीति निर्माता मात्र जिम्मेवार भएर नपुग्ने बताइन्। देशको विकास र समृद्धिमा हरेक नागरिक तथा समुदायको पनि उत्तिकै भूमिका र जिम्मेवारी हुने उनको भनाइ थियो।
भण्डारीले नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्वपूर्ण आधार भएको उल्लेख गरिन्। नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने भन्दै उनले यस क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिइन्।
नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी बुझ्न पनि उत्तिकै आवश्यक रहेको उनले बताइन्।
‘मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीति निर्माताहरू मात्र जिम्मेवार भएर पुग्दैन। समाजका हरेक पक्ष, रहेका समुदाय र प्रत्येक नागरिकको पनि विकासमा आफ्नो भूमिका र जिम्मेवारी हुन्छ। नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन, इमानदारिता पनि विकासका महत्वपूर्ण आधार हुन्,’ उनले भनिन्।
उनले नागरिक शिक्षाले नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्नुपर्ने बताइन्। शिक्षालाई विवेकशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
भण्डारीले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षण विधि, पाठ्यक्रम र मूल्यांकन प्रणालीलाई जीवनोपयोगी ज्ञान, दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने बताइन्। शिक्षा प्रणालीमा सुधारसँगै पठन संस्कृतिको विकास पनि उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरिन्।
